Thursday, December 5, 2013

नुवाकोट विशेष : नुवाकोट जिल्ला परिचय

अभियान राष्ट्रिय दैनिक, 
नुवाकोट विशेष : नुवाकोट जिल्ला परिचय


नुवाकोट नेपालको मध्यमाञ्चल विकासक्षेत्रको वाग्मती अञ्चलको एक जिल्ला हो । राजधानीसँग सिमाना जोडिएको यस जिल्ला काठमाडौंबाट उत्तर पश्चिममा अवस्थित छ । अन्तरराष्ट्रिय सिमानालाई कतैबाट पनि नछुने यो जिल्ला ऐतिहासिक महत्वका हिसाबले पनि अग्रस्थानमा छ । भौगोलिक विभाजनअनुसार पूर्वपश्चिम झण्डै अर्धचन्द्राकार यो जिल्ला पहाडी प्रदेशमा पर्छ । उच्च पहाडी क्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रका बीचमा छरिएका समथर बेशी र टारहरू भएको यो जिल्लामा विविध भौगोलिक विशेषता पाउन सकिन्छ । यो जिल्लाको कुल भूभागमध्ये ७१ प्रतिशत पहाडी क्षेत्र, १८ प्रतिशत बेशी तथा टार र ११ प्रतिशत समथर भूभाग रहेको छ । 

जिल्लाको नामकरण
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुअघिसम्म नुवाकोट पश्चिम १ नम्बरका रूपमा परिचित थियो । यस जिल्लाको नामकरण गोपालवंशीय शासनकालमा नवाकोट थियो । त्यसबाट अपभ्रंश भएर नवकोट्य, नवक्वाथ, नौकोट हुँदै नुवाकोट रहन गएको जनश्रुति छ । जिल्लामा रहेका ‘नौकोट’बाट नामकरण गरिएको नुवाकोटबाट जिल्ला विभाजनका क्रममा सल्यानकोट र धूवाँकोट धादिङ परे भने कालीकोट रसुवा जिल्लामा प¥यो । अहिले यस जिल्लामा नुवाकोट, बेलकोट, मालाकोट, प्यासाकोट, सिमलकोट र भैरवकोट गरी ६ कोट मात्र बाँकी छन् । 

भौगोलिक अवस्थिति 
नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७ डिग्री ५४ मिनेटदेखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांशसम्म र ८ डिग्री ५० मिनेटदेखि ८५ डिग्री ४५ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्री सतहबाट न्यूनतम ४ सय ५७ मिटरदेखि अधिकतम ५ हजार १ सय ४४ मिटरसम्मको उचाइ रहेको नुवाकोट जिल्लाको क्षेत्रफल १ हजार १ सय २१ वर्गकिलोमिटर रहेको छ । भूधरातलीय हिसाबमा जिल्लालाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ भने प्रशासनिक आधारमा पनि तीनओटै संसदीय निर्वाचन क्षेत्र, १३ इलाका, ६१ गाविस, १ नगरपालिका र ५ सय ६० वडा छन् । 

ऐतिहासिक महत्व 
नुवाकोट जिल्लासँग नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको नाम जोडिएर आउँछ । नुवाकोटलाई आधार मानेरै उनले कान्तिपुर उपत्यका विजय गर्न सफल भएका हुन् । तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहको अभिलाषा कान्तिपुर उपत्यका विजय गरी गण्डकी तथा कर्णालीपारिका बाइसे–चौबीसे राज्यहरूलाई मिलाएर एकीकृत र समुन्नत नेपाल बनाउने थियो । यही क्रममा उपत्यकाको पश्चिमतर्फको मूल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरू गरियो । त्यसबेला नुवाकोट कान्तिपुरअधिनस्थ मात्र नभई त्यसको एउटा बलियो सामरिक किल्लाका रूपमा रहेको थियो । यसलाई पृथ्वीनाराण शाहका सेनाले तीनपटकको प्रयासपछि विसं १८०१ मा विजय गर्न सफल भए । नुवाकोट हात पारेपछि मल्लकालीन दरबार र मन्दिरलाई कायमै राखी गोरखाली राजाले यहीँबाट आर्थिक एवम् सामाजिक क्रियाकलाप सञ्चालन गर्न थाले । नुवाकोट विजयपछि उनले यसलाई दोस्रो राजधानीका रूपमा प्रयोग गरी कान्तिपुर हमला गरे । विसं १८२५ को इन्द्रजात्राको दिन गरिएको हमलामा पृथ्वीनारायण शाहको सेनाले कान्तिपुरमाथि विजय हासिल ग¥यो । यसबाट पनि नेपालको इतिहासमा नुवाकोट जिल्लाको ठूलो भूमिका रहिआएको प्रस्ट हुन्छ । यसबीचमा नुवाकोटसँग गोरखाको सम्पर्क बढाउन हात्तीगौंडा, राइसिङ, कागुने, सामरी, थर्पु, कटुञ्जे, पालुङ्टार, आरुघाटलगायत मार्गको महत्वपूर्ण भूमिका थियो । 

पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नुवाकोटको साततले दरबार वास्तुकलाको एक अनुपम नमूनाका रूपमा परिचित छ । आक्रमणकारीलाई भित्रबाट प्रस्ट देख्न र प्रतिकार गर्न सकिने, तर बाहिरबाट नदेखिने किसिमका संरचना, युद्धबन्दी थुन्ने कालकोठरी र अन्य वस्तुहरू त्यसबेलाको वास्तुकलाका जीवन्त उदाहरण हुन् । दरबारअघिको तिलिङ्गा घर (पछि गारदका रूपमा प्रयोग गरिएको), उत्तरपूर्व कुनामा रहेको रणबहादुर शाहको बैठक घर पनि शाहकालमै निर्माण गरिएका हुन् । 

भैरवी मन्दिर र सिन्दुर जात्रा, तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृति हुन् । यीबाहेक यहाँ अन्य थुप्रै ऐतिहासिक महŒवका मन्दिर, पाटीपौवा, ढबली पनि छन् । उपत्यकाबाट तत्कालीन समयमा नुवाकोट सरेका मल्लहरूले यहाँ पनि काठमाडौंमा जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि नामका टोल बसालेका थिए, जुन आजसम्म पनि कायम नै छन् । नुवाकोटका नेवारहरू साततले दरबार निर्माणका क्रममा यस स्थानसम्म आइपुगेको अनुमान छ । 

धार्मिक एवम् पर्यटकीय महत्व 
नुवाकोट दरबारपरिसरस्थित भैरवी मन्दिर, तलेजु मन्दिर, राउतबेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर आदि जिल्लाका प्रमुख धार्मिक तीर्थस्थल हुन् । 

सिन्दूर जात्रा
जिल्लाकै प्रमुख धार्मिक तीर्थस्थल मानिने देवीघाटको जालपा र नुवाकोटको भैरवी मन्दिरमा हरेक वर्ष चैत्र शुक्लपूर्णिमाका दिन मेला लाग्ने गर्छ । चतुर्दशीका दिन भैरवी मन्दिर र गुह्य पाटीअगाडि विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि मेला शुरू हुने गर्छ । मेलामा देवीघाटस्थित जालपादेवी मन्दिरमा पूजाअर्चनासहित पशुबली दिने चलन छ । धार्मिक मान्यताअनुसार नुवाकोट मन्दिरपरिसरमा रहेको भैरवीदेवी बहिनी र तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाटमा रहेको जालपादेवी दिदी हुन् । यी दुई दिदीबहिनीलाई वर्षको एकपटक भेट गराउन भैरवी देवीलाई बाजागाजा र सिन्दूर जात्रासहित देवीघाट ल्याउने गरिएको छ । यो मेलामा नुवाकोटआसपासका जिल्लाका साथै अन्यत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । 

दुप्चेश्वर मेला 
विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्यपूर्णिमामा लाग्ने जात्रा जिल्लाको अर्को ठूलो पर्व हो । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महीना दर्शनार्थीको भीड लाग्छ । मङ्सिरको एकादशीको दिनबाट शुरू हुने जात्रा पूर्णिमापछि मात्र सकिन्छ । मेला र अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखालगायत जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन् । मेलाको धार्मिक एवम् पर्यटकीय महŒव पनि छ । खासगरी स्थानीय झाँकी नाच, ह्याल्मो गीत र शेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेषगरी सन्तान नहुने दम्पति सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन् । दुप्चेश्वर महादेवको पूजाअर्चनापछि सन्तान हुन्छ भन्ने मान्यता छ । 

बेत्रावती मेला 
उत्तर गयाका रूपमा चिनिने रसुवा र नुवाकोटको सिमानास्थित बेत्रावतीमा पुसेऔंशी र कुशेऔंशीका दिने विशेष मेला लाग्ने गर्छ । यी दिनहरूमा विशेषगरी बाबुआमा नहुनेहरूले उक्त तीर्थस्थलमा गएर स्नान एवम् श्राद्ध आदि कर्म गर्छन् । यीबाहेक कविलासस्थित नाट्येश्वर मन्दिर, सागर कुण्डलगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूमा विभिन्न समयमा मेला लाग्ने गर्छ । 

गोरू जुधाउने जात्रा 
नुवाकोटको तारुका गाविसमा हरेक वर्ष माघेसङ्क्रान्तिका दिन आयोजना हुने गोरू जुधाउने जात्राले पनि विशेष महत्व राख्छ । किंवदन्तीअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्नका लागि गोरू जुधाएको र त्यसै बेलादेखि उक्त परम्पराले निरन्तरता पाएको बताइन्छ । राजाको स्वागतार्थ शुरू भएको गोरू जुधाउने जात्रालाई हाल पर्यटकीय महत्वका साथ हेरिन थालिएको छ । उक्त जात्रामा नुवाकोटआसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट समेत दर्शक आउने गरेका छन् । 

पर्यटकीय महत्व
धार्मिक एवम् ऐतिहासिक महत्वको नुवाकोट पर्यटकीय दृष्टिकोणबाट समेत निकै सम्भावना बोकेको जिल्ला हो । ककनी, चिर्केश्वर डाँडा, बागमारा, सागर कुण्ड, भाल्चेको भेडा फार्म, चिसापानी, माला भञ्ज्याङ, काला भञ्ज्याङ, गोल्फु भञ्ज्याङ यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । पछिल्लो समय नुवाकोट काठमाडौं जोड्ने पासाङ ल्हामु राजमार्ग रेन्बो ट्राउट हाइवेका रूपमा समेत विकास हुँदै गएको छ । जिल्लाका पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि पछिल्लो समय फरकफरक पदमार्गहरूको खोजी हुन थालेको छ । काठमाडौंको शिवपुरीदेखि नुवाकोटको साततले दरबारसम्म पुगेर टुङ्गिने नौदिने पदमार्ग, शिवपुरी–अल्छे–पूणी–कुखुरे, मानेभञ्ज्याङ–माङ्केडाँडा–समुद्रटार–सुन्दरादेवी–बागमारा–मालाभञ्ज्याङसम्मको पदयात्रामा पर्यटकले स्थानीयबासीको रहनसहन, संस्कृति, वेशभूषाका साथै हिमाल, सूर्यादयजस्ता प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पाउनेछन् । बागमारानजिकै पर्ने सागर कुण्ड र राहुचुली यहाँको अर्को विशेषता हो । राहुचुलीबाट काठमाडौं उपत्यकाका अधिकांश भागका साथै नुवाकोटको पूरै भाग देख्न सकिन्छ । 

0 comments:

Post a Comment