Monday, February 24, 2014

नुवाकोटमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ हुँदै

काठमाडौँ । तेस्रो नुवाकोट महोत्सव–२०७० आयोजना गर्ने सिलसिलामा नुवाकोटमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ ।

पुष्प वाइबा 

यही फागुन १४ देखि २४ गतेसम्म बिदुर नगरपालिका वडा नं ४ स्थित बसपार्कमा आयोजना हुने महोत्सवमा सहभागीहरुलाई भरपुर मनोरञ्जन दिन पहिलोपटक यो साहसिक खेल सञ्चालन गर्न लागिएको हो ।
नुवाकोटको चारघरे गाविसको गौरीभित्ता डाँडाबाट महोत्सवस्थल बिदुर नगरपालिकास्थित बसपार्कसम्म करिब एक हजार मिटर उचाइको साहसिक एवम् रोमाञ्चक प्याराग्लाइडिङ यात्रा सञ्चालन गरिने छ ।
नुवाकोटमै पहिलोपटक आयोजना गर्न लागिएको साहसिक खेल प्याराग्लाइडिङलाई आगामी दिन पनि निरन्तरता दिइने महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवका अवसरमा दर्शकहरुका लागि त्रिशूली नदीमा र्याफ्टिङ र हेलिकप्टरबाट नुवाकोट र रसुवाको गोसाइँकुण्डको अवलोकन तथा परिक्रमा गराइने छ ।
महोत्सवमा विशेष आकर्षणका रुपमा करिब २५० वर्षअघिको परम्परागत गोरु जुधाइ प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी महोत्सवकै अवसरमा ‘मध्यमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला–२०७०’ सँगै आयोजना गरिने बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा १५० भन्दा बढी व्यापारिक स्टल रहनेछन् । मेलामा खासगरी प्रविधि, हस्तकला, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री गरिने छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । नुवाकोटमा यसअघि विसं २०६३ र २०६६ मा महोत्सवको आयोजना गरिएको थियो ।
प्राचीनकालमा नुवाकोट ऋषिमुनिहरुको बसोवास रहेको स्थल मानिन्छ । लिच्छवी राजा अंशुवर्माको जन्म भएको र आधुनिककालमा नेपाल एकीकरणको प्रारम्भ भूमि र काठमाडौँपछिको दोस्रो राजधानी पनि मानिने भएकाले नुवाकोटको ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्व रहिआएको छ ।
विसं १८१९ मा पृथ्वीनारायण शाहले निर्माण गरेको नुवाकोटको साततले मल्लकालीन दरबार, शक्तिशाली भैरवी देवीको मन्दिर, ताँदी र त्रिशूलीको सङ्गममा रहेको देवीघाट तथा बागमती अञ्चलको दोस्रो पशुपतिनाथ (दुप्चेश्वर महादेव) को मन्दिर यहाँक आकर्षक गन्तव्य हुन् । त्यसैगरी, नुवाकोटमा मात्रै फल्ने स्ट्रवेरी (भुइँकाफल), रेन्बो ट्राउट माछा, समुद्र फिँज चामल र कान्छी बदाम, त्रिशूली नदीको जलयात्रा यहाँका विशेषता हुन् ।

0 comments:

Post a Comment