Tuesday, March 18, 2014

तीन–तीनवटा हेलिकोप्टर

काठमाडौं, ४ चैत (ओएनएस) : उपप्रधान तथा गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष वामदेव गौतमसहितले काठमाडौंको छिमेकी जिल्ला धादिङ जान तीन–तीनवटा हेलिकोप्टर प्रयोग गरेको प्रति एमालेकै सभासदले संसद बैठकमा असन्तुष्टि जनाएका छन् ।

एमालेकै सभासद चुडामणि जंगली विकले संसदमा सुत्केरी भोकै बस्नु परेको तर मन्त्रीहरु भने हेलिकोप्टरमा मस्ती गरेको भन्दै रुष्टता व्यक्त गरे ।

मकवानपुरकी एक सुत्केरीले १९ दिनसम्म भोकभोकै बस्नुपरेको प्रसंग समेट्दै सभासद विकले हेलिकोप्टर सयरप्रति आपत्ती जनाउँदा गृहमन्त्री गौतमले पुलुक्क हेरेका थिए ।

‘मकवानपुरमा १९ दिनसम्म सुत्केरीले खान पाएकी छैनन्, हाम्रै पार्टीका मन्त्री र नेता भने पार्टीको अधिवेशन उद्घाटनमा जान लाखौं खर्चेर हेलिकोप्टर चढ्नु कहाँसम्मको न्यायोचित हो ?’, सभासद विकले भने, ‘गरिबले खान नपाई भोकभोकै मर्ने र गरिबका नाममा राजनीति गर्ने नेता र मन्त्री फजुल खर्च गर्ने यो कहाँको राज्यव्यवस्था हो ?’

उनले १९ दिनकी सुत्केरीलाई १९ घोगा मकै  पनि मागेर दिनुपरेको यथार्थ कोट्याउँदै मन्त्रीले भने तीनवटा हेलिकोप्टर लिएर सयर गर्नु न्यायोचित नभएको बताए ।
जीवनस्तरका महत्वपूर्ण प्रसङ्ग उठाइरहँदा सभामुख सुवास नेम्वाङले भने उनलाई ‘यस विषयमा पछि कुरा गरौँला, विषय भन्दा बाहिर गयो’ भन्दै रोकेका थिए ।

एमाले धादिङको क्षेत्र नं. १ को अधिवेशन उद्घाटन गर्न गृहमन्त्रीसहित एमाले नेताहरु तीन वटा हेलिकोप्टरमा काठमाडौंसँग सीमा जोडिएको धादिङ पुगेका थिए । 

0 comments:

Post a Comment